दसैँ नजिकिँदै थियो ।
शारदीय दिनहरु रमाईला हुन्छन् । म बेफुर्सद थिएँ । शरद
यामको समय भएपनि मुटु कमाउने अनि कठ्याङग्रिने
जाडो । म दिपायल र धनगढीको बसको यात्रामा थिएँ । बस चिया चमेनाको निम्ति
केही कर रोकियो डोटी जिल्लाको बुडर बजारमा
। बजारमा केही गाडीहरू रोकिएका देखिन्थे । मानिसको ओहोरदोहोर फाट्टफिट्ट थियो ।
कानै चिर्ने गरी यात्रुलाई सामान किन्न र लिन आग्रह गर्ने व्यापारीहरूको जाडो
मिसिएको करुण र तिखो स्वरले मलाई पनि तान्यो । बसको झ्यालबाट चियाएर हेरेँ । मेरो सामुन्यमै अन्दाजी १८/
२० वर्षकी बाटुलो अनुहार, गहुँ गोरी वर्णकी, मैलिएको
पातलो कुर्ता लगाएकी सुन्दर युवती हातमा केरा बेच्न लिएर उभिरहेकी देखेँ । उनी
कराउँदै थिइन्, "सस्तोमा गाउँघरको शुद्ध केरा खानुस् ।" चिसो याममा
केरामा मन कसैको गएन । नबिकेका केरा फिर्ता लाँदै ती युवती नजिकै चिया पसलमा चिया
पकाउन थालिन् । उनी चिच्च्याइ रहेकी थिइन्, "आउनुहोस् !
चिया खानुहोस्, ताजा समोसा खानुहोस् ।" विवशतामा जिएको जीवन जस्तो उनी जाडोले थरथर कापिरहेकी पनि थिइन् । मसँग साथी सिमोन थियो, गाडीबाट
झरेर सरासर लाग्यौँ त्यही चिया पसलतिर । सबै यात्रुहरू हुरुरु गाडीको चालकसँगै अलि परतिरको ठुलो होटलतिर लागे त्यो होटलको साहुजी हामीलाई गिद्दे नजरले हेरिरहेको थिए। सिमोनले पनि केही न केही
सोच्यो होला तर ऊ केही बोलेन ।
"खै !
बहिनी दुई कप चिया देऊ ?" हामीले चिया माग्यौँ । एकोरिएर हेरिरहिन् उनी । फ्रेसअप हुन
भनेर सिमोन पसलको पछाडितिर पानीको धारातिर लम्कियो । समोसा बनाउनका लागि होला आलु उसिनेका रहेछन् । मैले आलु
मागेँ, नुनमा चोपेर आलु खाएँ । गाउँमा उत्पादित आलु रहेछन्, बडो गजबको स्वाद थियो । उनको आम्दानी राख्ने फुर्केथैली कम्मरमा बाँधिएको थियो । उनलाई लेख्न पढ्न आउँदो रहेनछ। ती युवतीसँग केहीबेर कुरा
भयो । उनी सानै छँदा पहिरोमा परी आमाबुवाको
मृत्यु भएको रहेछ । पसल भाडामा चलाइएको हुनाले उनको कमाइले
महिनामा भाडा तिर्न ठिक्क हुँदो रहेछ । उनको हेराइले
निरन्तरता दिइरह्यो । मलाई कौतुहल बनाइरह्यो । उनलाई नियालिरहेँ । सिमोनलाई केही मतलब थिएन ।
बसले यात्रुलाई सङ्केत गर्दै हर्न बजायो । चियाको पैसा तिर्दै मैले सोधे," बहिनी
तिम्रो नाम ? दीपा.... । उनको सानो र मिठो उत्तर ।
दीपा खुब टोलाई रहिन् । गाडी चढेर जान लाग्दासम्म उनको नजरले हामीलाई छोडेन ।
गाडीको झ्यालबाटै पैसा दिएर उनले अघि बेच्न ल्याएको एक
दर्जन केरा किनिदियौँ, खानाका लागि भन्दा पनि माया लागेर । यसले उनमा झन् हामीप्रति प्रेम पलाए झैँ लाग्यो । गाडीले गति लियो । उनको आँखाले गाडीलाई पछ्याइरहे । मानौँ, उनको भावना
चुँडेर गयो । कता कता दीपाको मायाले मलाई पनि तानिरहेको
थियो । मेरो उमेर उनको उमेरभन्दा करिब एक दुई वर्ष
बढी थियो। मैले उनको बारेमा सिमोनलाई पनि सेयर गरेँ ।
बस दौडिरहँदा सिमोन र म भने स्तब्ध थियौँ ।
सिमोनले पनि बुझिसकेको छ, बुझेर पनि नबोलेको रहेछ
। मेरो मनमा अनेक थरी
कल्पनाहरू तैरिरहेका
थिए । दीपाको जीवन,आनीबानी, अनुहार, व्यापार, मिठो बोली र
एक टकको हेराइलाई झलझल्ती झेलिरहेको थिएँ । मेरो मनले उनलाई प्रेम गर्न थालि सकेको रहेछ ।
करिव तीन महिनापछिको कुरा हो । म सिलगढीबाट नेपालगञ्जको यात्रामा थिएँ । खाना खानका लागि बुडर बजारमा गाडी रोकियो । म खुसी भएँ किनकि आज पनि फेरि दीपा भेटिन्छन् । दीपाको बारेमा थप केही बुझ्नु छ । मेरो मनको अन्तर हृदयको तारले तानिरहेको थियो । गाडीबाट झरेँ र सिधै दीपाको पसलतिर हानिएँ । पसल बन्द थियो । खुब हेरेँ । पसल केही दिन अगाडिदेखि नै बन्द भएको जस्तो देखिन्थ्यो । मलाई खिन्नताले लुट्यो । हिनता बोधले पिरोल्यो । नैरास्यताले चियायो।अतितले गिज्यायो। कौतुहल र जिज्ञासाले घच्घच्याउँदै दीपाको बारेमा जान्न म नजिकको चिया पसलभित्र पसेँ । एउटा हातमा चिया अर्को हातको औलाले देखाउँदै , "अचेल त्यो पल्लो चिया पसलकी चिया बेच्ने बहिनी खै त ?" साहुजीले अन्कनाउँदै उत्तर दियो," दीपा कि शिल्पा ?" दीपा....................? मैले फेरि सोधे ,दीपा................? "दीपा त बम्बई छन् रे । पसलको भाडा पनि तिर्न बाँकी छ रे । खास कुरो क्या हो बाबु । हामीले पनि राम्ररी जान्याका छैनौँ । कोई कोई ब्या गर्यो पनि भन्छन् ।" बुढाले एक सासमा भने । म खजरङ्ग भएँ । मेरो मथिङ्गलमा अतितले परिक्रमा गरिरह्यो । मलिन अनुहारमा गाडी चढेँ । गाडीले छोड्यो बुडरलाई तर मेरो मनबाट दीपाप्रतिको कौतुहलाले छोडेन । सधैँ यात्रामा रमाउने यात्रीलाई यसपाली कर्णालीको माछाको स्वाद पत्तै भएन, तराईका समथर फाँट, झुरुप्प बस्ती, ठाउँ ठाउँका अरण्य जङ्गलका दृश्यहरु ह्रदयमा बस्न सकेनन् । यात्रा असाध्यै लामो झैँ लाग्यो । नेपालगञ्ज पुगेपछि झन न्यास्रो लाग्यो ।
केही समयको अन्तरालपछि म सहजपुरबाट
डडेलधुराको गन्तव्यमा थिएँ । बुडरको त्यही पसल बसबाटै हेरेँ, चुपचाप थियो
म नि चुपचाप भएरै कल्पि रहेँ । तुफान डाँडामा पुगेपछि गाडीबाट अलगिएँ । मसँग अरु
अरु साथीहरु पनि थिए उहाँहरू सबैसँग बिछोडिएँ । आफ्नो कामतर्फ लम्कियौँ । करिब पाँच मिटर हिँडे हुँला । विपरित दिशाबाट एउटी पातली, रङ उडेकी, कपाल रातो
बनाएकी युवती केही मानिसहरूको साथमा आइरहेको देखेँ । मैले उनलाई चिनिन । उनले मलाई
चिनिछन् ।
बोल्न डराइरहेकी थिइन् । आफैँ बोलिन, "म दिपा
हुँ ।" मैले उनलाई पुरै नियालेँ । दीपाको पहिलाको रूप, रङ्ग फुङ्ङ् उडेको थयो । उनको नजिक गएर सोधे," दीपा !
तिमी कसरी यस ठाउँमा ? तिम्रा पछिल्ला वर्षहरु ........? तिम्रो बुडरको पसल त बन्द भएको धेरै भइसक्यो ।"आदि प्रश्नहरू गरिरहेको थिएँ । उनका
आँखाबाट भाव विह्वलका आँसुका बलिन्द्र धारा बगिरहेका थिए । उनले मलाई हेर्न सकिरहेकी थिइनन् । उनी निहुरिएर रुन्छे श्वरमा अविराम फतपताइ रहिन्," म बदमासहरूको
फेला परेको रहेछु । मलाई विभिन्न आश्वासन र बहाना बनाएर
बम्बै लगियो । मैले नरकको
जीवन जिएँ । कालान्तरमा म पापीहरुको पिजडाबाट फुत्के छु । मलाई मद्दत गर्ने
को थिए थाहा छैन । म
नेपालमा कसरी पुगेँ त्यो
पनि थाहा छैन । म अब आफ्नै बुडर
जाँदैछु । जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गर्दा जीवन हारिसकेकी
रहेछु ।" उनले सुनाएका
दर्दनाक पीडाहरूले मेरा आँखा पनि रसाए । मैले मनमनै पुकार गरे, "जीवन संघर्षको मैदान हो, जीन्दगीमा आउने समस्याहरु, बाधाहरु, असफलताहरुलाई पार गर्ने
साहस, धैर्यता र अठोट मिलोस ।"तर उनलाई केही भन्न सकिन । उनी जाने गाडीले हर्न बजाईरहेको थियो । उनी गाडीमा चढिन् र हिँडिन् । उनको टाउको गाडीको झ्याल बाहिर थियो । म
देखिरहेको थिएँ । गाडी हराउञ्जेल परसम्म एकनासले हेरिरहेँ ।
समयको गतिशील चक्रको करिव एक महिनापछि "डोटीमा एड्सबाट एक युवतीको मृत्यु" शीर्षको समाचार पश्चिम
घटना र विचार राष्ट्रिय दैनिक ( प्रधान
सम्पादक: हर्क बोहरा) पत्रिकामा छापियो । उनी थिइन् यिनै दीपा....। हातहरू थरथर कापेँ । निधारबाट पसिना चिटचिट बग्यो । सकारात्मक सोच, मृदुभाषी, मितव्ययी व्यवहार उनको
जीवनको विशेषता थियो । सुन्दर जीवनका तमाम सपनाहरू, चाहनाहरू, इच्छाहरू थिए होलान् । काँचको शिशा झैँ टुक्राटुक्रा भयो दीपाको जीवन ।
No comments:
Post a Comment